बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ

बैतडी | भदौ २१, २०८०

बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ

बैतडी:    पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर विद्यार्थी नदी तर्दै विद्यालय जान बाध्य छन् । बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ । 


न्वाघरी नदीले विद्यार्थीका कयौँ सपना बगाइसकेको छ । न्वाघरीले बगाउँदा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । यो पीडा सिगास गाउँपालिका–७, साङडा र थलार गाउँका विद्यार्थीको हो ।


सिगास–७, साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास–६, को गणेश माविमा धाउँदै आइरहेका छन् । 


विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आउनुभएको छ । शिक्षिका चन्द गणेश माविमा अध्यापन गराउने भएकाले विद्यार्थीको सहारा बन्नुभएको छ । पुलका लागि पटक–पटक माग गरे पनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले पीडा सुनाउनुभयो ।     


नदी तर्ने स्थानबाट माथि हेरे मौरा भीर देखिन्छ, जहाँबाट हालसम्म दुई जनाको लडेर मृत्यु भइसकेको छ । न्वाघरीगाडमा बगेर तीन जनाको मृत्यु भइसकेको छ । भीरमा हिँड्ने बाटो छैन, नदी तर्ने पुल नहुँदा यहाँका विद्यार्थी हरेक दिन नदीमा हेलिदैं विद्यालय आवत–जावत गर्न बाध्य छन् ।  


२०३२ सालमा स्वीकृति पाएको गणेश माविमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले बताउनुभयो । ४० जना विद्यार्थी सधैँ नदी तरेर विद्यालय आउनेगरेको उहाँले बताउनुभयो । 


संयोगले साङडा गाउँकै शिक्षिका लक्ष्मी चन्द गणेश माविमा अध्यापन गर्ने भएकाले उहाँको काँधमा अध्यापनसँगै विद्यार्थीलाई नदी तार्ने जिम्मेवारीसमेत रहेको प्रधानाध्यापक साउदले बताउनुभयो । पुलका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो । बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन ।  बर्सेनि यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ । यो खबर आजको गोरखापत्र अनलाइनमा प्रकाशित छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्